नेपालको राजस्व परिचालनमा आयकर हिस्सा खस्किएको छ भने अन्तःशुल्क हिस्सा सामान्य बढेको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा समग्र राजस्व संकलनमा आयकर हिस्सा २५.३ प्रतिशत र २०८०÷८१ मा २६.८ प्रतिशत थियो ।
२०८०/८१ मा १३.८ प्रतिशतमात्र रहेको अन्तःशुल्क हिस्सा २०८१/८२ मा १४.९ प्रतिशतमा उक्लिएको छ । गत आवमा आयकर लक्ष्यको ७६.२२ प्रतिशतमात्र उठेको छ । अन्तःशुल्क भने ८९.८५ प्रतिशत उठेको छ ।
लक्ष्य अनुसार आयकर उठ्न नसक्दा त्यसले राजस्व परिचालन संरचनामै परिवर्तन देखिएको हो । यो आवमा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । समग्र राजस्व परिचालन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड थियो ।





