काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा यही साउन २० गते आएको बाढीमा नेपालका १७ जना परेको आशंका व्यक्त गरेका छन् ।

हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बाढीमा परेका नेपालीहरूको उद्धारका लागि कूटनीतिक पहल भइरहेको समेत बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु । बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘उनीहरूको उद्धारको लागि दूतावासमार्फत् तत्काल कूटनीतिक छलफल भएको थियो। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु ।’
उत्तराखण्ड बाढीमा कुशे गाउँपालिका–२ का १३ जना सम्पर्कविहीन भएको पालिका अध्यक्षले जानकारी दिएका छन् । उत्तराखण्डमा ‘क्लाउड ब्रस्ट’ भएर उक्त विपत्ति निम्तिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तरकाशी क्षेत्रमा हिमताल विस्फोट भएको हुनसक्ने पनि आकलन गरिएको छ ।





